धनुषा प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवा फरार
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । गएराति भेन्टिलेसन तोडेर ८ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार, हिराशत कक्षबाट ९ जना थुनुवा फरार भएका थिए । तीमध्ये एक जनालाई भने पक्राउ गरिएको छ ।
फरार हुने थुनुवाहरूमा क्रमशः जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेका छन् ।
यसैगरी, धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएका हुन् ।
फरार भएकाहरूमध्ये ५ जना लागूऔषध मुद्दामा र ३ जना अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । फरार उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।
