ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधबार राति बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा ग १४ प ६४४३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रकको ठक्करबाट मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्का गम्भीर घाइते भएका थिए । घाइते खड्काको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
