संविधान दिवसले सबैमा नयाँ उत्साह प्रदान गरोस्ः प्रदेश प्रमुख देवकोटा

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार ०९:०६

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गरोस् भनि शुभकामना दिएका छन् ।

प्रदेश प्रमुख देवकोटाले बिहीबार मनाइँदै गरेको संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै यस्तो शुभकामना दिएका हुन् । उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औल्याए ।

जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज ९ वर्ष पूरा भएको छ । “यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु” प्रदेश प्रमुखद्वारा जारी सन्देशमा उल्लेख छ ।

साथै उनले सो अवसरमा यो सुनौलो विहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको उत्सवको दिन हो आज” प्रमुखको सन्देशमा भनिएको छ ।

नेपाली जनताको संघर्ष र बलिदानको स्वरूप विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ ।