बागमती प्रदेश प्रमुखद्वारा बाल दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देबकोटाले आज मनाइँदै गरिएको बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले शनिबार एक सूचना जारी गर्दै राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिकाहरू, अभिभावकहरू, बालअधिकारकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
बालबालिका आजका साझेदार र भविष्यका कर्णधार रहेको भन्दै उनले उनीहरूको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको प्रदेश प्रमुख देबकोटाले बताए ।
बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवम् कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका अपरिहार्य रहेको उनको भनाई छ ।
राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित रहेको बताउँदै उनले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन सबैको दायित्व रहेको उल्लेख गरे ।
साथै उनले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरे ।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो हो ।
सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो ।
