लागूऔषधसहित छुट्टाछुटुटै स्थानबाट १७ जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १६:४५

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाठ १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट, सिराह, कैलाली, काठमाडौं र बर्दिया जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले नुवाकोट, दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवी तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट सातबिसे र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले शिखर बेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ६३९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, सिराहाको औरही गाउँपालिका–१, हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५ ग्राम ४ सय मिलिग्राम, मोबाइल ४ थान र नगद १ लाख १९ हजार रूपैयाँ सहित सिरहा नगरपालिका–१ बस्ने २७ वर्षीय पंकज यादव समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डरतर्फ जाँदै गरेको बिआर ०६ डिसि ४९९५ नम्बरको जिपलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक यादव समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ बस्ने ४० वर्षीय राम बहादुर चौधरी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय १० मिलिग्राम, मोबाइल ५ थान, डिजिटल तराजु १ थान, कैची १ थान र नगद ७ हजार ५ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले राम बहादुर चौधरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित ललितपुर महानगरपालिका–१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई बिहीबार दिउँसो पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कुरियरको सामान नरेशको रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, बिहीबार नै काठमाडौंको कीर्तिपुर नगरपालिका–८, पाँगास्थित युनिक एण्ड युनिशा मिट पसलबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ९४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० फाईल, नाईट्राभेट १ फाईलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पसलका संचालक धादिङ शिद्वलेख गाउँपालिका–३ चालिसे घर भएका ३० वर्षीय बिष्णु श्रेष्ठ समेत ४ जना रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–९ बस्ने २७ वर्षीय नबिन हमाल र कैलाली धनगढी उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय मनोज ऐरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।