ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
काठमाडौं । कलाकार सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकर पक्राउ परेका छन् । उनी कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार, उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको खुल्न आएको छ ।
उनले विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत त्यही अनुसार हुने भन्दै ठगी गर्ने गरेको पाइएको हो ।
उनले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूसँग सम्पर्कबिहीन हुने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको जनाइएको छ ।
