अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:५९

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, बाँके र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय केशव राज भट्ट र २३ वर्षीय भरत जाग्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ दंगीशरण गाउँपालिका बस्ने ३२ वर्षीय बिक्रम परियार र तुल्सीपुर उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय दिपक गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ४० ग्रामसहित मंगलबार एक जा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागे घर भएका २४ वर्षीय सौगात परियार रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।