त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र २५, मंगलवार १५:३१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा प्यूठानको सरुमारानी गाउँपालिका–१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका–५ घर भएका ३० वर्षीय देवराज खत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरु विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, समिरको साथबाट सुनको एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद भएको छ ।

त्यसैगरी, देवराजलाई भने बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले देविरामको साथबाट २५ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।