अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १८, मंगलवार १६:२४

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाल रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–१७ बस्ने १८ वर्षीय किशोर समेत २ जना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ४१ मिलिग्रामसहित सोमबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ५० मिलिग्रामसहित सोमबार साँझ दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी समेत २ जना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।