अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार १५:१९

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाटपाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुत, रुपन्देही र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश १ किलो ४ सय ४६ ग्रामसहित आइतबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका–१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुन र रुकुम पश्चिम बाफिकोट गाउँपालिका–७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पुनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँसहित पक्राउ गरेको छ ।

यस्तै, रूपन्देहीको सियारी गाउँपालिका–२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका–१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

प्रहरीले २ किलोग्राम लागूऔषधसहित आइतबार राति उनीहरुलाई पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको गौरादह नगरपालिका–३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रूपैयाँ सहित कमल गाउँपालिका–५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेन्द्रलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।