मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काभ्रे । बनेपा–पनौती सडकखण्डअन्तर्गत काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
ठक्करबाट टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नगरपालिका–७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका छन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
