एन्फा महिला लिगः उद्घाटन खेलमा कोशी प्रदेश विजयी
काठमाडौं । आजबाट सुरु भएको एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश विजयी भएको छ । खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको हो ।
प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाका रहेको छ भने कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले पनि सहभागिता जनाएको छ ।
प्रतियोगिताअन्तर्गत सिंगल राउण्ड रोबिनको आधारमा ४५ खेल हुने र सिंगल राउण्ड रोबिनबाट उत्कृष्ट पाँच टिमबीच डबल राउण्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने आयोजकले जनाएको छ ।
सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।
उक्त प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० लाख र ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
