नेपालगञ्जमा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते
दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा आज दिउँसो यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे १ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको उक्त बस दुर्घटना हुँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सह–चालक हुन् । सो बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परेर २६ जना भएका छन् । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
