कलकत्तामा पुर्याइ मानव अंग मृगौला बेचबिखन, मकवानपुरकी महिला पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १२, बुधबार १८:१५

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पुर्याइ मानव अंग मृगौला बेचबिखन गरेको आरोपमा मकवानपुरकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेकी छन् । घलानलाई पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले घलानसँगै अर्का एक पुरुषलाई पनि पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्रीलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरूले पीडितलाई मृगौला बिक्री गरेमा १० लाख रुपैयाँ कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्याएको खुल्न आएको छ ।

थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाकधम्की दिई उल्लेखित रकम समेत नदिई जबरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।