अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ११, मंगलवार १५:५६

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बुलबुले नजिक होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त परिणामको लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ९२ मिलिग्रामसहित सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साह, भक्तपुर सुर्यविनायक नगरपालिका–३ बस्ने २८ वर्षीय सन्दिप थापा र २४ वर्षीया जोशिका श्रेष्ठ थापा रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार मोहितलाई सो परिमाणको लागूऔषधसहित पक्राउ गरिएको थियो ।

साथै सोधपुछको क्रममा भक्तपुरका सन्दिप र जोशिकालाई पनि पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई भद्रपुर नगरपालिका–८ हस्पिटल मोडबाट पक्राउ गरेको जनाइएको छ ।

दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।