अवैध लागूऔषधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार १७:४६

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धादिङ, पर्सा, मोरङ र सिराह जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३, आँपगाछीबाट अवैध लागूऔषध गाँजा १५ किलोग्रामसहित सोमबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ बस्ने २२ वर्षीय सन्देश राई रहेका छन् ।

उनलाई अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.१ ख २०९६ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार राईलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्रामसहित गएराति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–८ बस्ने २७ वर्षीय रमेश तामाङ समेत २ जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६८२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी, पर्साको वीरगंज महानगरपालिका–१६ स्थित बाटोबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ६६ ग्रामसहित आइतबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार बैसाली हाजीपुर पंचायत–८ सराय बस्ने २८ वर्षीय मिठु कुमार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १६ ग्राम ३९ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय मनिष कुमार साह, भारत घर भएका २५ वर्षीय गुड्डु कुमार र २७ वर्षीय मोहमद अन्सार आलम रहेका छ्न् ।

लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले रानीबाट बिराटनगरतर्फ आउँदै गरेको प्र.१–०२–००४ ह ०८३१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, सिराहाको मिर्चैया नगरपालिका–७ जिवा टोलस्थित प्रदिप साहको कुखुरा फर्मबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्राम र १ थान डिजिटल तराजुसहित आइतबार राति एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१० प्रयागपुर टोल बस्ने २५ वर्षीय रामाशंकर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।