हेटौंडाको जुरेथुमस्थित कृष्ण मुर्ती प्राङ्गणमा भक्तजनको भीड
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, जुरेथुमस्थित कृष्ण मुर्ती प्राङ्गणमा भक्तजनको भीड लागेको छ ।
वैदिक सनातन धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदैछन् । सोही अवसरमा श्रद्धालुहरु उक्त कृष्ण मुर्तीको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।
हटियास्थित जुरेथुम पिकनिक तथा पर्यटन पार्कमा रहेको उक्त कृष्णको मुर्ती ४२ फिट अग्लो छ । मुर्ती प्राङ्गणमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुले श्रद्धापूर्वक आज पुजाआजा तथा भजनकीर्तन गरेको पार्कका अध्यक्ष संकरबहादुर राउतले जानकारी दिए ।
यस्तै, हेटौंडा–१७ स्थित जगत गुरुत्तम धाममा पनि आज हजारौँ भक्तजनहरुले पुजाआजा गरेका छन् ।
यसैगरी, आज ऐतिहासिक मकवानपुरगढी दरबारस्थित श्रीकृष्णको मुर्ती तथा हेटौंडा–६ चौघडास्थित वंशगोपालको मन्दिर, हेटौंडा–५ स्थित राधाकृष्ण मन्दिरलगायत जिल्लाका अन्य कृष्ण मन्दिरहरुमा आज श्रद्धालुहरु पुजाआरधना गर्न पुगेका छन् ।
उनीहरुले कृष्ण मन्दिरमा भेला भई भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन तथा ‘व्रत’ गरी जन्माष्टमी मनाइरहेका छन् ।
