तनहुँ बस दुर्घटनाः शवको परीक्षण जारी
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल शव परीक्षण भइरहेको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा मृत्यु भएकाहरुको आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।
४३ जना सवार उक्त बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको थियो । तीमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण गरिरहेको छ । मृतक सबै भारतीय नागरिक हुन् । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइनेछ ।
