हेटौंडा उपमहानगरले महावीर पुनको पुस्तक किन्ने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वैज्ञानिक महावीर पुनको अभियानमा समर्थन गर्ने उद्देश्यले पुस्तक किनेर सहयोग गर्ने घोषणा गरेको छ । उपमहानगरले पाँच लाख रुपैयाँ बराबरको पुस्कत किनेर वैज्ञानिक महावीर पुनलाई सहयोग गर्ने घोषणा गरेको हो ।
पुस्तक बिक्री अभियान लिएर उपमहानगरपालिकाको कार्यलय पुगेका पुनसँग भेट गर्दै मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उक्त रकम बराबरको पुस्तक किन्ने प्रतिबद्धता जनाएका हुन् ।
वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले २०२ दिनदेखि पुस्तक बिक्री अभियान लिएर हिँडिरहेका पुन एक साताअघि चितवनको भरतपुर हुँदै बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेका हुन् ।
उनले सुदूरपश्चिम प्रदेशबाट अभियान सञ्चालन गरेका थिए । वैज्ञानिक पुन लुम्बिनी र गण्डकी हुँदै बागमतीको हेटौंडामा पुस्तक बिक्री गरिरहेका छन् ।
वैज्ञानिक पुनले अझै केही दिन हेटौंडामा उक्त अभियान सञ्चालन गर्ने जानकारी दिए ।
वैज्ञानिक पुनलाई कार्यालयमा स्वागत गर्दै मेयर मीनाकुमारी लामाले पवित्र उद्देश्यले सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ दिने बताइन् । उनले नगरका विभिन्न वडा कार्यलय, पुस्तकालय, ज्ञान केन्द्रहरूका लागि पुनको पुस्तक खरिद गरेर अध्ययनका लागि राख्ने व्यवस्था मिलाउने बताइन् ।
देशभर पुस्तक बिक्री अभियानमा रहेका वैज्ञानिक पुनले अहिलेसम्म एक लाख २५ हजार पुस्तक बिक्री गरिसकेको बताए ।
नेपालको कुल जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरिद गरे पनि कारखाना सञ्चालनका लागि २० करोड रुपैयाँ संकलन गर्न सकिने उनको भनाई छ ।
