तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटना, १४ जनाको मृत्यु
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको छ ।
केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त बसमा ४३ जना सवार थिए । तीमध्ये ३९ जनाको उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् ।
उद्धार गरिएकामध्ये १४ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौंतर्फ जाँदै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको जनाइएको छ ।
