हेटौंडा–१० लाई बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ भाद्र ३, सोमबार १८:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

वडा कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ८ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्ज तामाङले जानकारी दिए ।

स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४९ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत, १ वटा सूचक ८१ प्रतिशतसम्म नतिजा हासिल गरेको बताए ।

उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष तामाङले बताए ।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा क्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ७ र ८ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ ।

वडा नम्वर १७ र १० भने यही भदौ ७ र ८ गते क्रमशः बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुन लागेको छ ।