हेटौंडाको चौरासी तीर्थ अक्षयधाममा शिलालेख उद्घाटन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, स्थित सत्यनारायण मन्दिर एवम् चौरासी तीर्थ अक्षयधाममा शिलालेख उद्घाटन गरिएको छ ।
नेपाल र भारतमा भएको ८४ वटा तीर्थलाई एकै ठाउँमा राखी निर्माण गरिएको उक्त मन्दिर एवम् चौरासी तीर्थ अक्षयधाममा मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शिलालेखको उद्घाटन गरेका हुन् ।
१२७ जना दाताहरुले एक–एक वटा मूर्ति राखी बनाइएको चौरासी तीर्थ अक्षयधाममा ९३ दाताहरुको शिलालेख गरिएको नेपाल तीर्थ प्रकाश संघका अध्यक्ष देवराज कोइलाले जानकारी दिए ।
यति धेरै तीर्थ एकै ठाउँमा राखी मन्दिर निर्माण भएको यो नेपालमा नै पहिलो चोटी रहेको उनले बताए । साथै उनले सबै भक्तजनहरुलाई मन्दिरमा दर्शन गर्न र मन्दिरको अवलोकन गर्न आउन आग्रह गरेका छन् ।
उक्त चौरासी तीर्थ अक्षयधामको प्रतिमा नेपाल प्रकाश संघको आयोजनामा निर्माण भएको हो । सो प्रतिमाको भने गत असार ९ गते समुद्घाटन गरिएको थियो ।

शिलालेख उद्घाटन कार्यक्रममा नेपाल तीर्थ प्रकाश संघका सल्लाहकार प्रकाश पौडेल, महेन्द्र राउत, कुष्माण्ड टोल विकास संस्थाका अध्यक्ष एवम् तीर्थ प्रकाश संघका सल्लाहकार रामबहादुर थापा मगर, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य माधवप्रसाद न्यौपाने, राप्रपा हेटौंडा–९ का अध्यक्ष दिनेश लामा र नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष सुरास सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

तीर्थ प्रकाश संघका सल्लाहकार प्रदिप कोइरालाले सहजीकरण गरेको कार्यक्रम संघका अध्यक्ष देवराज कोइरालाको सभाध्यक्षतामा भएको हो ।
