अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २२, मंगलवार १६:४८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका–३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

यस्तै, झापाको भद्रपुर नगरपालिका–९ निन्दा खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दिपेश माझीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । माझी लागूऔषध ब्राउनसुगर २ ग्रामसहित आइतबार राति पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनको घर तलासी गर्दा उक्त परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।