आज साउनको तेस्रो सोमबार, हेटौंडा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो
मकवानपुर । आज साउन महिनाको तेस्रो सोमबार । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा रहेको छ । यस दिन शिवको पूजा, आराधना गरिन्छ ।
भगवान् शिवको बार मानिने भएकाले आज उक्त मन्दिरमा ब्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।
आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गर्ने प्रचलन छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
आज हेटौंडाको भुटनदेवी, त्रिवेणीधाम, भीमफेदीको त्रिखण्डी मन्दिर लगायत शिवको मन्दिरमा विहानैदेखि ब्रतालुहरुले प्रजा–आरधाना गरिरहेका छन् ।







