कर वृद्धिको विरोध गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०८१ श्रावण २१, सोमबार ०९:२९

मकवानपुर । कर वृद्धि गरेको विरोध गर्दै निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका महासचिव राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा व्यवसायीको समूहले आइतबार एक कार्यक्रमबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।

बजारको माग र आपूर्ति सन्तुलन पुरै बिग्रिएको अवस्थामा व्यवसाय तथा बजार उकास्ने नीति लिनुपर्ने नगरपालिका जस्तो अभिभावक संस्थाले कर वृद्धि गर्नु गैर जिम्मेवारीपन रहेको ठहर गर्दै उनीहरुले करको दायरा घटाउन माग गरेका छन् ।

संघले बुझाएको उक्त ज्ञापनपत्रमा कर बृद्धि हुँदा निर्माण व्यवसायीले व्यवसाय नवीकरण नै गर्न नसक्ने अवस्था सिर्जना भएको समेत उल्लेख गरिएको छ ।

तत्काल बढाइएको कर शुल्क परिमार्जन गरी विकास निर्माणको कार्यमा सहज वातावरण बनाउन संघले ज्ञापनपत्रमार्फत् उपमहानगरपालिकालाई आग्रह गरेको छ ।