हेटौंडाका दुई जना लागूऔषधसहित पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
आज (बिहीबार) बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले लागूऔषध गाँजा करिब ३३ किलोग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा र सोही उपमहानगरपालिका–१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका–४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।