बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

तु खबर संवाददाता
२०८१ श्रावण १७,बिहीबार ०८:३४

काठमाडौं । बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

उनीहरुले आज साँझ ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा आयोजना हुने एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् ।

शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा बागमतीका दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णालीका यज्ञराज जोशी रहेका छन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम पदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बागमतीका प्रदेश प्रमुखमा यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुखमा तिलक परियार थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले नियुक्ती गरेका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदमुक्त गरेको हो ।