लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुर्खेत, बर्दिया र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ मिलमिलाप टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिकामा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका–७ घर भएका ३० वर्षीय राकेश बलामी र नुवाकोट पञ्चकन्या गाउँपालिका–६ घर भएका २२ वर्षीय रोशन थापा रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–९ खग्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित टीकापुर नगरपालिका–९ बस्ने २२ वर्षीय दिपेश आउजीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशालाबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ८० मिलिग्रामसहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने वर्ष १८ वर्षीय किशोर, सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र सोही उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प ४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, सुर्खेतको पन्चपुरी नगरपालिका–५ स्थित गणेश शाहीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ७० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पन्चपुरी नगरपालिका–५ बाबियाचौर बस्ने ३८ वर्षीय प्रेम बहादुर शाही, ३५ वर्षीय तपेन्द्र कुमार कंडेल, ३२ वर्षीय तप्त रावल र सोही नगरपालिका–६ बस्ने ३८ वर्षीय प्रमोद बहादुर सलामी रहेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.७ प ३०७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–३ भोलागौडी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय १० मिलिग्रामसहित गएराति एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–६ दमौली बस्ने २० वर्षीय मनिश शाह समेत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.६ प ७०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरीले बैजानाथ गाउँपालिका–१ गावर लाईन्स पार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्रामसहित सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजानाथ गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुक बहादुर रावल र २९ वर्षीय नगेन्द्र रोकाय रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
