योगदान राष्ट्रको हेटौंडा नगर कमिटी गठन
मकवानपुर । योगदान राष्ट्रको लागि हेटौंडा नगर कमिटी गठन गरिएको छ । सोमबार हेटौंडा–५ स्थित सिटी कलेज मकवानपुरको सभाहलमा आयोजित भेलाले बेलप्रसाद खतिवडालाई संयोजकत्वमा नगर कमिटी गठन गरेको हो ।
यस्तै, सफल दुतराजलाई उपसंयोजकमा चयन भएका छन् । योगदान राष्ट्रका लागि मकवानपुरका अध्यक्ष पदम प्रसाद (मिलन) सेढाईको अध्यक्षता र योगदान राष्ट्रका लागि केन्द्रीय सदस्य एवम् मकवानपुरका पूर्व अध्यक्ष रुपक कालिराजको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
नवनिर्वाचित नेतृत्वले नगरलाई योगदानका कार्यहरूद्वारा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका थिए । संयोजक खतिवडाले वडा कमिटीलाई पूर्णता दिँदै ‘प्राथमिक उपचार हाम्रो सरकार’ भन्ने नारालाई साकार पार्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कालिराजले मकवानपुर जिल्लाको कामको उच्च मूल्यांकन गर्दै नगर र गाउँ कमिटीलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बजगाईंले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनिष अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा योगदान राष्ट्रका लागि मकवानपुरका सल्लाहकार, आजीवन सदस्य, जिल्ला सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, योगदानकर्र्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो संस्थाले २०७४ सालदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
