पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु
पोखरा । पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनाग्रत भएको थियो ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
सो दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
