टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०९:३९

काठमाडौं । भक्तपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान सवा १ बजेको समयमा जिल्लाको मध्यपुर ठिमी नगरपालिका–४, नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरे पछाडीबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, टिपरको ठक्करबाट तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजेको समयमा मृत्यु भएको हो । मृतक तामाङको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ ।

यस्तै, टिपरको ठक्करबाट मोटरसाइकल पछाडी सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् । मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।