डिप्लोमा प्रमाणपत्र तहको परीक्षा दिन आएका नक्कली परीक्षार्थी पक्राउ
मकवानपुर । सानोठीमी भक्तपुरद्वारा संचालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रबृत्ती परिक्षा दिन आउने चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको पर्माणिपुर नगरपालिका–२, बस्ने २० वर्षीय नरेन्द्र महतो, चितवनको भरतपुर महानगरपालिका–८, बस्ने १५ वर्षीय नाबाक, सर्लाहीको विष्णु गाउँपालिका–७ बस्ने १८ वर्षीय राजिव कुमार राउत र रौतहटको गरुडा नगरपालिका–२ बस्ने १८ वर्षीय लालबाबु सहनी रहेका छन् ।
उनीहरुलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित भुटनदेवी माध्यमिक विद्यालयबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान साढे ९ बजेको समयमा परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षकले फेला पारी उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको हो ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाब आलमको सट्टामा, नाबाककले सोही ठाउँ बस्ने १८ वर्षीय निमेश राय यादवको सट्टा, राजिव कुमार राउतले सिराहा घर भएको १८ वर्षीय ललन कुमार यादवको सट्टा र लालबाबु सहनीले सर्लाही बस्ने १८ वर्षीय सुनिल महतो सट्टा परीक्षा दिइरहेको अवस्थामा भेटिइएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।