लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पर्साको वीरगंज महानगरपालिका–२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय सुरज साह कलवार र २० वर्षीय सलमान अन्सारी रहेका छन् । उनीहरुलाई प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–४ वैदिक नगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २१ वर्षीय समिर राजधामी रहेका छन् । उनलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यी दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
