हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही साउन १२ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।
उनका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म हासिल गरिएको छ ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गर्न लागिएको उनले बताए ।
बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–२ हेटौंडा नगरमा दोस्रो बालमैत्री वडा घोषणा हुनेछ । यसअघि हेटौंडा–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

