हत्याको आरोपमा एक जना पक्राउ
जनकपुरधाम । सिराहामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका छन् ।
बच्चुलाई सोही ठाउँका ५३ वर्षीय बुधराम महतोको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार, बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरीस्थित खेतमा कोदालोले हानेर बुधरामको हत्या गरेका थिए । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामको बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिराहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद रहेको बुझिइएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
