बागमती प्रदेशः मुख्यमन्त्रीको दाबी पेश गर्दै लामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले सोमबार मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् ।
केन्द्रिय समीकरण अनुसार, कांग्रेसको भागमा परेको बागमती सरकारमा लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदको दाबी पेश गर्न लागेका हुन् ।
एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए ।
आइतबार बसेको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका थिए ।
जम्कट्टेलको राजीनामालाई स्वीकृत प्रदान गरेसँगै प्रदेश प्रमुख शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन् । सोही बमोजिम लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
लामालाई नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन संसदीय दलले आइतबार सर्वसम्मत निर्णय गरेको थियो । लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
