प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।
दुवै ठुला दलले आलोपालो सरकारको चलाउने नयाँ सहमति गरेपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मौजुदा सरकार अल्पमतमा परेको छ ।
सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।