नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि आएको छ । मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से आज भने सामान्य अंकले मात्रै बढेको हो ।
बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३ दशमलव ७९ अंकले मात्र बढ्दै २१ सय ४ दशमलव २२ विन्दुमा उक्लिएको हो । यसअघि मंगलबारको दिन ४७ अंकमाथिले बढ्दै नेप्से सूचक २१ सयको विन्दुमा अडिएको थियो ।
यस्तै, आज नेप्से परिसूचक सामान्य अंकले बढेको भएपनि कारोबारमा भने तीब्रता लिएको छ । आज ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
मंगलबार ४७ अंकले सूचक बढ्दा ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
कुल २४६ कम्पनीमध्ये बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।