आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार, हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ ।
जसको कारणले कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, राति देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।