प्रतिपक्ष दलको अवरोधपछि स्थगित बागमती प्रदेश सभा आज बस्दै
मकवानपुर । नेपाली कांग्रेससहित प्रतिपक्ष दलको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।
यसअघि बिहीबार दिउँसो बसेको बैठक प्रतिपक्ष दलले बजेटमाथि आपत्ति जनाउँदै अवरुद्ध गरेपछि दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको थियो । ३ बजे बस्ने भनिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको थियोे ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका थिए।
उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका थिए । सांसदहरूले ‘बजेट पुनःलेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
बागमती प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याइएको विनियोजित बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको थियो ।
बागमती सरकारले यही असार १ गते आगामी आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
