पहिरोको कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध
लमजुङ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानैदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।
गएरातिदेखिको निरन्तर वर्षासँगै खसेको पहिरोका कारण उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार, सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी नरोक्किएकोले समस्या भइरहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।
बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेको जनाइएको छ ।
