प्रधानमन्त्रीद्वारा हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजनाको सबस्टेशन उद्घाटन

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार १५:३४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौंडा सबस्टेसनको उद्घाटन गरेका छन् ।

नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज एक कार्यत्रमबीच प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगिसकेको बताए । विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको उनले दाबी गरे ।

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उनले जानकारी गराए । उनले आन्तरिक रूपमा विद्युत खपत बढाउन उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन समेत दिए ।