६ वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे नै बस्ने गरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बोलाइएको छ । उक्त बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा गृह, अर्थ, कृषि तथा पशुपक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री/सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे बस्ने गरी पूर्वाधार विकास समितिको बैठक आह्वान गरेको छ । सो बैठकमा समितिको वार्षिक प्रतिवेदन,२०८० माथि छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्नेछ । बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुनेछ ।
