आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार ०९:१७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

त्यसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।