प्रेस युनियन बागमतीद्वारा महासंघमा तालाबन्दी
मकवानपुर । नेपाल प्रेस युनियन बागमती प्रदेश समितिले बुधबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा तालाबन्दी गरेको छ ।
सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएकोभन्दै महासंघमा युनियनले तालाबन्दी गरेको हो ।
प्रेस युनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन विडारी, सदस्य गंगा पौडेल तथा मकवानपुर जिल्ला अध्यक्ष सुवास विडारीसहितको युनियनकर्मीको टोलीले मंगलबार हेटौंडा–११ स्थित महासंघमा तालाबन्दी गरेको हो ।
‘महासंघको निर्वाचन जेठ २६ गतेका लागि तोकिएको हामी सवैलाई थाहा नै छ । तर, अझैसम्म सदस्यता सार्वजनिक गरिएको छैन ।’, युनियन मकवानपुर अध्यक्ष विडारीले भने,‘ सदस्यता शुद्धिकरणको नाममा युनियनकर्मीलाई जिल्ला, प्रदेश र केन्द्रबाट उपेक्षा गरिएका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं ।’
उनले सदस्यता शुद्धिकरणको नाममा कुनै पनि क्रियाशील सञ्चारकर्मीलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने स्पष्ट पारे ।
