हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

तु खबर संवाददाता
२०८१ जेष्ठ ९,बुधबार १८:३७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो ।

सुरक्षा गोष्ठीको समापन कार्यक्रम उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यता एवम् संघीय गृह सचिव एकनारायण अर्यालको सभाध्यक्षतामा भएको हो ।

सो सुरक्षा गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न कानुन तर्जुमा लगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी गराए ।

उनले राजनीतिक आवरणमा गैर संवैधानिक र गैर कानुनी गतिविधि हुन नदिन, नागरिकहरुले आफुमाथि शोषण दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा ठगिएको महसुश नगर्ने गरी कार्य गर्न सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए ।

उनले आफुले कार्यभार सम्हालेको पछिल्लो २ महिनामा राजश्व चुहावट नियन्त्रणलगायत विभिन्न काम सफलतापूर्वक गरेको भन्दै मेहनत गर्दा सुधार सम्भव छ भन्ने पुष्ट भएको बताए । साथै उनले सुधारका थुप्रै कार्य अघि बढाइएको र निकट भविष्यमा त्यसको नतिजा देखिने दृढता व्यक्त गरे ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त समाजमा विविधता र एकता प्रवर्द्धन गर्न स्थानीय प्रशासनले भूमिका खेल्नुपर्ने भन्दै उनलेले नागरिकहरुलाई नकारात्मक हिसाबले प्रशिक्षित गर्ने तथा संविधान र लोकतन्त्र विरोधी गतिविधि भएमा त्यसलाई जानकारीमा लिन जरुरी बताए ।

यस्तै, सो समारोहलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नागरिकको हित अभिवृद्धि र सहज सेवा प्रवाहका लागि सबै तहका सरकारहरुले समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिए । त्यसका लागि जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी लगायत सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिमा लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने दृढता व्यक्त गरे ।

मुख्यमन्त्री जम्कट्टेलले संघीयता कार्यान्वयन र यसको स्थायित्वका लागि यथाशीघ्र प्रहरी समायोजन गर्नुपर्ने बताउदै सुरक्षाका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गरी विभिन्न आयामहरुमा ध्यान दिई नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिए ।

सो अवसरमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले शान्ति सुरक्षा र सेवा प्रवाहलाई बढी भन्दा बढी नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले साइबर अपराध नियन्त्रणका लागि प्रभावकारी कानून बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आगलागी, डढेलो लगायतका विपद्का घटनाबाट नागरिकहरुलाई सुरक्षित राख्न संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

दुई दिनसम्म संचालन भएको उक्त सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रदेशको सबै जिल्लाको शान्ति–सुरक्षाको वर्तमान अवस्था, अपराधजन्य नियन्त्रण र जनतालाई सेवा प्रवाह गर्ने कार्यलाई छिटो छरितो र चुस्त बनाउने प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निष्कर्ष निकालेको संघीय गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले गोष्ठीको समापन कार्यक्रमपश्चात पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।

उनले प्रदेशको विभिन्न जिल्लामा राजश्व संकलनलाई सहजीकरण गरी प्रदेश र संघीय सरकारबीच सहकार्यको माध्यमबाट भौतिक पूर्वाधार विकासलाई दिर्घकालिन रुपमा जनतालाई प्रत्यक्ष लाभ दिने उद्देश्यले सुरक्षा अवधारणलाई परिमाजन गरी राष्ट्र सेवक कर्माचारीबाट सेवा प्रवाह गर्न आग्रह गरे ।