घण्टौंबाट मिनेटमा झर्याे हेटौंडा–ध्याङसिंगटार यात्रा

तु खबर संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १७:०२

मकवानपुर । बिहान गाउँबाट हिड्यो लामो समयको यात्रापछि पुगिन्थ्यो हेटौंडा, स्थानीय लवाङ लामा सम्झन्छन् । चाडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिड्यो धेरै पटक काम नसकेर बास बस्नुपरेको उनी बताउँछन् ।

गाउँको बाटो डाँडापाखा हुँदै धुलाम्य भएर बल्ल–बल्ल थानाभर्याङ उत्रिएर कपडा फेरी काम काजमा लाग्ने गरेका हामी अहिले छोटो समयमै हेटौंडासम्मको यात्रा गर्न सक्ने भएको छ, –उनले बताए ।

तत्कालिन बसामाडी गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा गाभिएको ध्याङसिंटार, शिखरकोट लगायको क्षेत्रका बासिन्दा नकौंलि–भैरबडाँडा हुँदै हेटौंडा–११ थानाभर्याङ उत्रेर बजारसम्मको यात्रा गर्ने गर्दथे ।

अहिले पनि पैदलयात्राबाट करिब ४ घण्टा र सवारी यात्राबाट झण्डै अढाई घण्टाको यात्रा गर्नुपर्ने हेटौंडा–१ का प्राबिधिक छठुलाल शाह बताउँछन् । सुरु–सुरुमा यहाँसम्म आउँदा लाग्ने समय र अहिलेको समयमा घेरै फरक भैसकेको उनी बताउछन् ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–११ शहिद स्मारक सडक हुँदै गाउँ जाने सडक निर्माण गरेसँगै स्थानीयको बजारसँगको दुरी नजिकिएको हो । नबलपुरबाट स्मारक हुँदै पुन्य क्षेत्र जाने सडकबाट उकालो लागेपछि करिब २० मिनेटको सवारी यात्रामा गाउँसम्म पुग्ने अवस्था भएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौंपानेले बताए

ंजनप्रतिनिधिमा निर्वाचित भएसँगै स्थानीयको बजारसँगको दुरीलाई घटाउनका लागि ७ वर्षको अवधिमा झण्डै १ करोड ५० लाख रुपियाँ सडकको निर्माण, स्ल्याब ढलानसहितका काममा खर्च भएसँगै यात्राको समय छोटिएको उनले बताए । डाँडापाखाको उकालो बाटो पैदल यात्राबाट सदरमुकामसम्म आउँन दिनै माया मार्नुपर्ने अवस्थालाई चिर्दै स्थानीयको बजारसँगको पहुँचलाई सहज बनाउँने वातावरण तयार गरिएको उनले बताए ।

घण्टौंको पैदल यात्राबाट सदरमुकामसम्म आउँथ्यौ, पछि सवारीमा पनि लामै समय पार गर्नुको बिकल्प हामीमा थिएन, अब छोटो समयमा बजार पुग्ने अवस्था भयो हामी खुशी छौं, स्थानीय फुलमाया घलानले भनिन् ।

उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी ८३ लाख रुपियाँ बजेट सडकका लागि दिएको छ । गत आर्थिक वर्षमा ५० लाख र चालु आवमा दिएको ३३ लाख रुपयाँबाट बनदेवीबाट शिखरकोट जाने सडक अन्तर्गतको ५३० मिटर लामो सडकको स्तरीकरण र स्ल्याब ढलानको काम सुरु भएको छ ।

शुक्रबार हेटौंडा नगर प्रमुख मीनाकुमारी लामा, उप–प्रमुख राजेश बानियाँले संयुक्त रुपमा सडक निर्माणको शिलान्यास गरेका छन् ।

स्ल्याब ढलानको शिलान्यास गर्दै नगर प्रमुख लामाले गाउँलाई शहरसँगै चाडै जोडौं, नगरबासीले स्वास्थ्य सहितका सुबिधालाई सहजै उपभोग गर्ने अवस्था श्रृजना गर्नका लागि गाउँमा विकासको काममा तीब्रता दिएको बताइन् । उनले उपमहानगरमा गाभिएका तत्कालिन पाँच गाबिसलाई लक्षित गर्दै विकासका कामलाई अघि बढाइएको जानकारी दिइन् ।

यस्तै, नगर उपप्रमुख बानियाँले समानुपातिक विकासको अवधारणमा अहिले उपमहानगर रहेको बताए । पहिले नगरपालिकामा रहेका ११ वडा भन्दा पछि थपिएका ठाउँको विकास गर्न सके उपमहानगरको समग्र विकास हुने धारणा रहेको बताए । उपमहानगरमा रहेर पनि शहरसँगको पहँुचमा कम्जोर रहेका ठाउँको विकासमा ध्यान दिँदै अघि बढेको बताए ।

सडक निर्माणसँगै १ नम्बर वडाको ध्याङसिंटार, नकौंली र १९ को डुमारे, लेकपानी क्षेत्रका नगरपवासीहरुले आफ्नो कृषि उत्पादनलाई बजारसम्म ल्याउनेसँगै आवश्यक सुबिधाहरुबाट लाभांबिद हुने अवस्था बन्ने बताइएको छ ।