बागमती प्रदेश सभा बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार ०९:१६

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेको प्रदेश सभा सचिवालय हेटौंडाले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।

संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ । यस्तै, बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राख्ने छन् ।

प्रदेशसभा बैठक बस्नु अघि दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिनेछ ।

प्रदेश सभाको चौथो अधिवेशन बैठक सोमबारबाट सुरु भएको हो । सो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना दिएका थिए भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो ।