सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा सात जना सम्मानित

तु खबर संवाददाता
२०८१ बैशाख ३१, सोमबार ०९:३५

मकवानपुर । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र हेटौंडाले विभिन्न विधामा सात जना व्यक्तिलाई सम्मान गरेको छ ।

केन्द्रको आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा चौंथो साधारण सभाको अवसरमा विभिन्न विधाका सात जनालाई सम्मान गरिएको हो ।

केन्द्रले प्रजातन्त्र सेनानीबाट राजनीतिकज्ञ दिपक मल्ल र अधिवक्ता कृष्णप्रसाद न्यौपानेलाई सम्मान गरेको छ ।

यसैगरी, सामाजिक सम्मानबाट अधिवक्ता केशवप्रसाद काफ्ले, साहित्य रत्न वीपि सम्मानबाट देवराज खरेल, दीर्घ लेखन सम्मानबाट राजबाबु पहाडी, मानव अधिकार सम्मानबाट अप्सरा बस्नेत र नारी रत्न साहित्य सम्मानबाट मञ्जु खराल दाहाललाई सम्मान गरिएको छ ।

सो क्रममा कार्यक्रममा वी.पिको अदालतमा बयान नामक कृति सार्वजनिकीकरण गरिनुका साथै दलभित्रको मुल्याङ्कन अभ्यास र नेतृत्वमा दिशाबोध विषयक विचार प्रवाह समेत गरिएको थियो ।

कार्यक्रम केन्द्रका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कृतिमाथि अधिवक्ता कृष्णप्रसाद भण्डारी र सुवासचन्द्र अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य प्रह्लाद लामिछाने, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, युवा नेता आनन्दराम पराजुली, नेकपा एमालेका नेता ईन्द्र नेपाल लगायतले आ–आफ्ना धारण राखेका थिए ।