नर्सहरूको अमूल्य योगदानको उच्च सम्मान गर्नुपर्छः मन्त्री श्रेष्ठ

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार १५:४६
file-photo

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नर्सहरूको अमूल्य योगदानको प्रशंसा र उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्री श्रेष्ठले आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०८१ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

नर्सिङ बिना अस्पतालको कल्पना समेत गर्न नसकिने उनको भनाई छ । मन्त्री श्रेष्ठले राज्यले तोकेको न्यूनतम तलब र अन्य सेवा सुविधाबाट नर्सहरु बञ्चित हुनुपर्ने विद्यमान अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

साथै उनले बागमती प्रदेश सरकारले नर्सहरूको पेशागत सुरक्षा, योग्यता अनुसार रोजगारी, विशेषज्ञता अनुसार पदपूर्ति लगायतका विषयलाई व्यवस्थित गर्दै लगिएको भन्दै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् १९७४ को जनवरीमा विश्व स्वास्थ्य संगठनले निणर्य गरे अनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वभर मनाउन थालिएको थियो ।

नेपाल नर्सिङ परिषद् (वि.सं.२०५३) मा स्थापना भएसँगै प्रत्येक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिएको छ ।